काठमाडौँ । राष्ट्रिय गौरवका आयोजना अन्तर्गतको एक प्रमुख आयोजना हो हुलाकी राजमार्ग । पूर्वदेखि पश्चिमसम्म तराईका बस्तीहरूमा यातायातको पहुँच विस्तार गर्न आर्थिक वर्ष २०६६/६७ मा यो आयोजना सुरु गरिएको थियो ।

२०७४/७५ मा सम्पन्न गर्ने भनिए पनि आर्थिक तथा भौतिक अवस्थाका कारण सफल हुन नसकेको आयोजनाले जनाएको छ । आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत रहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।
Laxmi sunrise bank 2034
हुलाकी राजमार्ग अस्तव्यस्त बनेको भन्दै संसदीय समितिमा प्रश्न उठ्न थालेको छ । प्रतिनिधि सभा अन्तर्गत शुक्रबार सार्वजनिक लेखा समितिको बैठकमा सांसद रामकृष्ण यादवले हुलाकी राजमार्गको ढिलासुस्तीबारे प्रश्न उठाएका छन् । उनले यो आयोजनाको अवस्था अध्ययनका लागि छुट्टै कार्यदल माग गरेका थिए ।
आफ्नो माग सुनुवाइ नभएपछि यादव बैठकमै कड्किएका थिए । उनले आगामी बैठक यही १२ गते बोलाउन माग गरे पनि सभापति ऋषिकेश पोखरेलले उपयुक्त समयमा बोलाउने भन्दै बैठक स्थगित गरेका थिए ।
सांसद यादवले भौतिक पूर्वाधार मन्त्रालयको निष्क्रियताका कारण यो राजमार्ग अस्तव्यस्त बनेको बताए । ‘सरकारले आर्थिक जिम्मेवारी पूरा नगरेको, आयोजना प्रमुखको निष्क्रियता, ठेकदार कम्पनीको गैरजिम्मेवार प्रवृत्ति र मन्त्रालयको निष्क्रियताका कारण यो आयोजना अस्तव्यस्त बनेको छ,’ यादवले भने, ‘धेरै वर्ष बितिसक्यो, अहिलेसम्म बाटो निर्माण सम्पन्न हुन सकेको छैन । जति पनि निर्माणको काम भएको छ, त्यसमा एकरूपता हुनसकेको छैन । लापर्बाहीपूर्वक काम भएको देखिन्छ । मापदण्डअनुसार पिच भएको देखिँदैन । फुटपाथ कति राख्नुपर्ने हो, त्यो पनि छोडिएको छैन ।’