नेपालको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक नाका तातोपानीमा सरकारको विशेष ध्यान गएको छ। शनिबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वयम् भन्सार क्षेत्रको निरीक्षणमा पुगिन् र व्यवस्थापन थप प्रभावकारी बनाउन निर्देशन दिइन्।

राजस्वको दृष्टिले निकै महत्वपूर्ण मानिने यस नाकाबाट वार्षिक २२ अर्ब रुपैयाँभन्दा बढी संकलन गर्ने लक्ष्य राखिएको छ। निरीक्षण टोलीमा परराष्ट्रमन्त्रीसँगै कांग्रेस सांसद मोहनबहादुर बस्नेतलगायत जनप्रतिनिधिहरूको उपस्थिति थियो।
मन्त्री राणाले तातोपानी नाका चीनको पवित्र स्थल मानसरोवर जाने मार्गको रुपमा समेत महत्त्वपूर्ण भएकाले यो स्थान पर्यटन प्रवर्द्धनको केन्द्र बन्नसक्ने बताइन्। “व्यापार मात्रै होइन, संस्कृति र पर्यटनको समेत केन्द्र बनाउन सकिने सम्भावना छ,” मन्त्री राणाको भनाइ थियो।
उहाँले काठमाडौं–कोदारी राजमार्ग लगायत तातोपानीसँग जोडिएका सबै सडकहरू स्तरोन्नति गर्न सरकार प्रतिबद्ध रहेको बताइन्। निरीक्षणको क्रममा स्थानीय सांसद, जनप्रतिनिधि र सरोकारवालासँग परामर्श समेत गरिएको थियो।
तातोपानी नाका केवल व्यापारिक केन्द्र नभई, नेपालको सम्भावनाले भरिएको अन्तर्राष्ट्रिय गेटवे बन्ने दिशामा यो पहलले नयाँ गति दिने देखिन्छ।